कांग्रेसमा पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ,पुस,२२-

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको निष्कर्ष निकालेको छ ।

पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ उनीहरूको छ । जनभावनाविपरीतका सरकारका निर्णय र पार्टी सञ्चालनमा तदर्थवाद शैलीले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको भन्दै पौडेल पक्षीय नेताहरूले कांग्रेस नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् ।

निर्वाचन समीक्षा र भावी रणनीति तय गर्न पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको शुक्रबार नक्सालमा बैठक बसेको थियो । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, महेश आचार्य, बलबहादुर केसीसहित करिब दुई दर्जन सदस्य उपस्थित थिए ।

पार्टीले नराम्रो हार बेहोरेपछि पौडेल पक्षीय १४ केन्द्रीय सदस्यको टोलीले यसअघि पनि पटकपटक बैठक राखेर निर्वाचन समीक्षा गर्दै आएको थियो । तर ती बैठकमा शीर्ष सदस्यहरू उपस्थित थिएनन् ।

१४ जनाको समूहको संयोजन केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले गर्दै आएका छन् ।आजको कान्तिपुरमा खबर छ ।