आई लिग खेल्न किरण चेम्जोङ ढाकाबाट सीधै भारत

फाईल तस्विर !!

काठमाडौं,मंसिर,४-भारतीय आई लिग खेल्न राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ ढाकाबाट सीधै भारत गएका छन्।

पन्जाब फुटबल क्लब (मिनेर्भा पन्जाब) ले किरणसँगको सम्झौता नवीकरण गरेपछि उनी लिगका लागि सीधै भारत पुगेका हुन्। नयाँ सिजनका लागि पन्जाब फुटबल क्लबले प्रशिक्षण सुरु गरिसकेको छ। किरणले सन् २०१८ मा टोलीलाई विजेता बनाइसकेका छन्।

नयाँ सिजनका लागि किरण अबको ६ महिना भारतमै रहनेछन्। कोरोना त्रासका कारण गत सिजन उनी  सम्मिलित पन्जाबले तेस्रो स्थानमा रहेर आई लिग सकाएको हो।

लिगमा पन्जाबले ४ खेल खेल्न बाँकी छँदै कोरोना भाइरसको त्रासका कारण आई लिग त्यही टुंग्याइएको थियो। लिग रोकिनुअघि नै मोहन बगानले लिग जितिसकेको थियो।

यो संस्कणको आई लिगमा नेपाली यू-२३ टालीका फरवार्ड अभिषेक रिजाल पनि मोहम्मदन स्पोर्टिङ क्लबबाट सहभागी हुँदै छन्। उनको पहिलो आई लिग अनुभव हुनेछ।

आई लिग आगामी जनवरी ७ देखि कोलकतामा हुनेछ। यसमा सहभागी ११ टोलीले पहिलो लेगमा एकअर्काको सामना गर्नेछन्। लिगको अकं तालिकाअनुसार शीर्ष ६ टोलीले पुनः एकअर्कासँग भिड्नेछन्।नेपालखबर