आज बडादशैं : मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरिदैं

काठमाडौं, आसोज १४-

आज नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।

आजको दिन घरघरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ ।

आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा टीका, जमरा तथा प्रसाद थापी ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।

विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ ।

असत्यमाथि सत्य र आसूरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा यसै दिन भगवान् रामले असत्यको प्रतीकका रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

दशैंको टिका कोजाग्रत पूर्णिमासम्म पनि लगाउने चलन छ । यो वर्ष टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।