राप्तीसोनारी गाउँपालिकामा धमाधम कालोपत्रे

नेपालगन्ज, वैशाख २५-
राप्तीसोनारी गाउँपालिकामा धमाधम सडक कालोपत्रे सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ८ मा कुल ८ सय १० मिटर सडक कालोपत्रे निर्माण सुरु गरिएको हो । कालोपत्रे निर्माण कार्यको मंगलबार धार्मिक विधिपुर्वक पुजाआजा र रिवन काटेर गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले विधिवत रुपमा उद्घाटन गर्नुभयो ।

सो क्रममा बोल्दै गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पाँच वर्षभित्रमा राप्तीसोनारीका प्रत्येक सडक, गल्ली कालोपत्रे हुने बताउनुभयो । वडा नम्बर ८ को धर्मवती चोकदेखी जिरोतर्फको ८ सय १० मिटर लम्बाई र ५ मिटर चौडाईमा उपभोक्ता समितिले सडक कालोपत्रे गर्न लागेको वडाअध्यक्ष खुमबहादुर बस्नेतले बताउनुभयो ।

यसका लागि गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । उपभोक्ता समितिका अध्यक्ष युवराज खत्रीले तोकिएको समयभित्रै गुणस्तरिय कालोपत्रे निर्माण हुने प्रतिवद्धता जनाउनुभयो । गाउँपालिकाले चालु वर्षका योजना तोकिएको समयमै सम्पन्न गराउन कामलाई तिब्रता दिएको छ ।