चिकित्सक संघको आन्दोलन फिर्ता

सुरक्षाको ग्यारेन्टी गर्ने सरकारको प्रतिवद्धता

काठमाण्डौ,असोज,१३-

सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गरेको छ । आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री शेर बहादुर देउवाले संघले उठाएको माग सम्बोधन गर्दै चिकित्सकलाई सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएपछि संघले तत्काललाई आन्दोलन स्थगित गरेको हो ।

चिकित्सकहरुमाथि हातपात भईरहेको र सुरक्षाको महसुस नभईरहेका बेला सरकारले स्वास्थ्य सेवा विधेयकमा उल्लेख गर्न लागेको प्रावधानले झनै त्यसप्रकारका घटनालाई बल पुर्याएकाले सुरक्षाको प्रत्याभुति हुनुपर्ने माग संघले उठाउदै आएको थियो ।

वार्तामा प्रधानमन्त्री देउवाले चिकित्सको पुर्ण सुरक्षाका लागि आफुले जस्तोसुकै कदम चाल्ने प्रतिवद्धता जनाएको र मन्त्रीपरिषद्को निर्णय पनि सच्चिएर आएकाले आन्दोलन स्थगित गरिएको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रीपरिषदको असोज २ गतेको बैठकले चिकित्सको चरम लापरवाहीका कारण विरामीको विरामीको मृत्यु वा अंगभंग भएमा त्यसको भरपाई चिकित्सकबाट गराउने व्यवस्था सहितको स्वास्थ्य सेवा विधेयक बनाउन स्वास्थ्य मन्त्रायलाई निर्देशन दिएको थियो ।

सो निर्णय सच्याईएपछि चिकित्सकले तत्काललाई आन्दोलन स्थगित गरेका हुन् ।मन्त्रीपरिषद्ले गरेको निर्णयको विरोधमा चिकित्सकहरु आन्दोलनमा उत्रेपछि असोज २ गते देखि मुलुकभरको स्वास्थ्य सेवा प्रभावित हुदै आएको थियो ।