बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबाली नोक्सान

काठमाडौं,कार्तिक,७-बेमौसमी वर्षात्का कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल ७ अर्ब २२ करोड रुपैयाँ बराबरको २ लाख ५८ हजार ९२ मेट्रिकटन धानमा नोक्सानी पुगेको हो ।

असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले गर्दा यी तीन प्रदेशमा सबैभन्दा बढी क्षति पुगेको छ । हालसम्म यी तीन प्रदेशबाट मात्रै क्षतिको प्रारम्भिक विवरण आएको छ । मन्त्रालयका अनुसार अन्य प्रदेशमा खासै ठूलो क्षति भएको छैन । ती प्रदेशबाट पनि सानोतिनो मात्रामा भएको क्षतिको विवरण मंगलवारसम्म संकलन भइसक्नेछ ।

मन्त्रालयको तथ्यांकअनुसार बाढीपहिरोका कारण सबैभन्दा बढी लुम्बिनी प्रदेश र सबैभन्दा कम प्रदेश १ मा नोक्सानी भएको छ । लुम्बिनी प्रदेशमा ४२ हजार ४ सय २७ हेक्टर जमीनमा लगाइएको ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धानबाली क्षति भएको छ । सुदूरपश्चिम प्रदेशमा १८ हजार हेक्टर जमीनमा लगाइएको १ अर्ब ९१ करोड रुपैयाँ बराबरको ६८ हजार ४ सय मेट्रिकटन धानमा पूर्णरूपले क्षति पुगेको छ ।

त्यसैगरी प्रदेश नम्बर १ मा ७ हजार ४ सय ९२ हेक्टर जमीनमा लगाइएको ८० करोड रुपैयाँ बराबरको २८ हजार ४ सय ६९ मेट्रिकटन धानबाली क्षति भएको छ ।लुम्बिनी प्रदेशमा बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहि, सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुर, १ नम्बर प्रदेशमा झापा, मोरङ र सुनसरी जिल्लामा सबैैभन्दा बढी धानबाली क्षति भएको देखिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार मन्त्रालयले अहिले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक मात्रै हो । धेरै क्षति पुगेकासहित कम क्षति भएका अन्य जिल्लाको क्षतिको पूर्ण विवरण मंगलवार सार्वजनिक गरिनेछ । ‘क्षतिको यकिन तथ्यांक प्राप्त भइसकेपछि मात्रै पीडित किसानलाई केकस्तो राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने भन्नेबारेमा मन्त्रालयले निर्णय गर्नेछ। आर्थिक अभियानबाट