स्ववियु निर्वाचनमा १० वटा विद्यार्थी संगठनले भाग लिने प्रतिवद्धता

काठमाण्डौं,फागुन २-फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा १० वटा विद्यार्थी संगठनले भाग लिने प्रतिवद्धता जनाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा निर्वाचन गर्न आफुहरू तयार रहेको बताए ।

अनेरास्ववियू विद्यार्थी संगठ्नकी अध्यक्ष नविना लामाले पूर्ण समानुपातिक र उमेर हदको बिषयलाई लिएर क्याम्पसमा तालाबन्दी गर्ने काम जायज नभएको भन्दै सबै विद्यार्थी संगठनहरुलाई स्ववियू निर्वाचनमा भाग लिन आग्रह गरिन । लामाले यो पटकको निर्वाचनमा आफ्नो संगठनले सभापतिमा ७२ प्रतिशत जित हाँसिल गर्ने दाबी समेत गरिन् ।

नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले विश्वविद्यालयलाई आमूल सुधार गर्न र विद्यार्थी आन्दोलनको साख जोगाउनको लागि पनि स्ववियू निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आठ वर्षदेखि हुन नसकेको स्ववियू निर्वाचन यस पटक तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।