खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

उपाधिसँगै मनाङले २१ लाख र उपविजेता फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छन्

कैलाली,फागुन,२८-मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो ।

मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे ।फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए ।

खेलको २२ औं मिनेटमा दिनेशले फ्रि-किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन् ।उनको प्रहार मनाङका गोलकिपर विशाल सुनारले बचाए ।

तर, ५१ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई १-१ गोलको बराबरीमा ल्याए ।खेलको ७२ औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए ।

खेलको ८६ औं मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३-१ को जित दिलाए ।उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ ।

उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ ।सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।खेलपाटीबाट