प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश

प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बस्ने

काठमाडौं,फागुन,२९-प्रतिनिधिसभाको आजको बैठकमा प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ । राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश गर्दै प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने गरी स्थगित भएको हो।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरुको अवरोधकाबीच प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको थियो । त्यसैगरी एमालेको अवरोधबीच आइतबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ’सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८’ पेस गर्नुभएको थियो ।

प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल बुधबार बस्ने बैठकमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने छ । एमालेको अवरोधकाबीच महाअभियोग प्रस्ताव छलफलका लागि पेश गरिएपछि आइतबारको बैठक सकिएको हो ।

प्रधानन्यायाधीश राणा विरुद्ध यहि फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो । राणाविरुद्ध सत्ता गठबन्धनमा सहभागी दलहरुले महाअभियोग प्रस्ताव ल्याएका हुन् ।