अर्जेन्टिनाको लज्जास्पद हार : क्रोएसिया संग ३ शुन्यले पराजीत

विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना अझै बाँकि

काठमाडौ,असार,८-

विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । 

समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो । 

क्रोएसियालाई सनसनीपूर्ण विजयी गराउने क्रममा अर्जेन्टिनाका गोल किपर वाइली काबाल्लेरोको अक्षम्य गल्तीका कारण क्रोएसियाले पहिलो गोल गरेको थियो । काबाल्लेरोले डी बक्सभित्र नियन्त्रमा लिएको बल क्लियर गर्ने क्रममा क्रोएसियाका एन्टे रोबिक नजिकै हावामा फ्यालेपछि ५३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । 

(भिडीयो हेर्नुहोस् )

त्यसपछि खेलको ८० औँ मिनेटमा रियल मड्रिडबाट खेल्दै आएका लुका मोड्रिचले गरेको गोल आकर्षक थियो । उनले अर्जेन्टिानाका डिफेन्डरलाई चक्मा दिँदै डी बक्सको केही बाहिरबाट प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । 

क्रोएसिया यतिमा मात्रै रोकिनेवाला थिए । उसका लागि बार्सिलोनाबाट खेल्दै आएका इभान राकिटिकले खलेको ९१ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी अल्मलिएका बेला गोललाई जालीको दिशा देखाइदिए । 

आइसल्यान्डविरुद्धको पहिलो खेलमा पेनाल्टी समेत गुमाएका लियोनल मेसीले एक दुई बाहेक गतिलो प्रदर्शन गर्न सकेनन् । उनी यो खेलमा फ्लप साबित भए । गोल खाएपछि दोस्रो हाफमा ३ जना स्ट्राइकर मेसी, हिगुइन र पाउलो ड्बालालाई एक साथ उतार्दा पनि अर्जेन्टिनाले क्रोएसियाको डिफेन्सलाई चिर्न सकेन । 

५९ प्रतिशत बल पोजिसन बनाए पनि क्रोएसियाको आक्रमणलाई अर्जेन्टिनाको डिफेन्सले छेक्न सकेन । विशेषगरी लुका मोर्डिच, इभान राकिटिक र मारियो मान्जुकिजले अर्जेन्टिनाको पोस्टमा पटक पटक चार्ज गरे । 

यता क्लब फुटबलमा चम्किएका मेसी, हिगुवाइन, ड्बाला र अग्वेरोले गतिलो पोस्ट चार्ज गर्न सकेनन् । यो पराजयपछि अर्जेन्टिनाको अघिल्लो चरणको यात्रा पनि कठिन बनेको छ । 

समूह चरणको अन्तिम खेलमा अब अर्जेन्टिनाले नाइजेरियासँग खेल्ने छ  । जुन अंकबिहीन अवस्थामा समूहको अन्तिममा छ । अर्को अन्तिम खेलमा आइसल्यान्डले अब क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले आइसल्यान्डलाई हराएको अवस्थामा र नाइजेरियालाई बराबरीमा रोके मात्रै पनि समहू उपविजेता हुँदै अन्तिम १६ मा पुग्नेछ । 

यसअघि सन् २०१४ को विश्वविजेता जर्मनी आफ्नो समूह चरणको पहिलो खेलमै मेक्सिकोसँग पराजित भएको थियो । त्यही विश्वकपको उपविजेता अर्जेन्टिना आफ्नो समूहको दोस्रो खेलमा लज्जास्पद हार भोग्न बाध्य भयो । 

के अर्जेन्टिना नकआउट चरमा पुग्ला 

 समूह ‘डी’ अन्तर्गत आफ्नो दोश्रो खेलमा पराजित भएको अर्जेन्टिनाको लागि नकआउट चरणमा पुग्ने सम्भावना भने अझै जिवितै छ । तर बलियो टिम मानिएको आइसल्याण्डले आफ्नो बाँकी दुवै खेल जितेमा अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ । तर लगातार दोश्रो खेल जितेको क्रोएसियासँग पनि आइसल्याण्डले सामना गर्ने हुँदा उक्त खेल जित्नु आइसल्याण्डको लागि चुनौतीपूर्ण हुनेछ ।

त्यस्तै यस अघिको खेलमा पराजित भएको नाइजेरियाले पनि दुई खेल खेल्न बाँकी छ, त्यसैले अब आइसल्याण्ड र नाईजेरियाको दोश्रो खेल हेरेपछि मात्र अर्जेन्टिनाको विश्वकप यात्राको आंकलन लगाउन सकिन्छ । आइसल्याण्ड र नाइजेरिया बीचको खेल आज (शुक्रबार) ८:४५ बजे हुँदैछ । खेलमा नाइजेरिया बिजयी भए त्यसको फाइदा अर्जेन्टिनालाई हुनेछ । त्यसैले अर्जेन्टिनाको नकआउट चरणमा जाने सम्भावना आइसल्याण्डको खेलमा भर पर्नेछ ।