ओखलढुंगामा मौसमी रुघाखोकीको समस्या बढ्यो

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर,१६-

Okhaldhunga district

चिसो बढेसंगै ओखलढुंगामा मौसमी रुघाखोकीको समस्या पनि बढेको छ । सामुदायिक अस्पतालका डा एरीक बोलरका अनुसार मौसमी रुघाखोकीको समस्या लिएर दैनिक सरदर १५ जना बिरामी अस्पताल आउने गरेका छन् । चिसो मौसम शुरु भएसंगै रुघाखोकी, ज्वरो, घाँटी दुख्ने लगाएतका समस्या लिएर अस्पताल आउने बिरामी बढेको अस्पतालले जनाएको छ ।

चिकित्सकका अनुसार चिसो मौसममा झाडापखाला, निमोनिया, टाउको र छाती दुख्ने जस्ता समस्या देखिन्छन् । यस्तै चिसोमा हात तथा खुट्टाका औंँला सुन्निने र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने समस्या पनि देखिन सक्छ । रुघाखोकी, दम, ओठ, हातखुट्टा फुट्ने, छाला सुख्खा हुने, फुस्रो हुने तथा फुट्ने जस्ता समस्या पनि चिसोकै कारण देखिन सक्छ । मुटु, मस्तिष्क, मृगौला, मधुमेह जस्ता दीर्घ रोग भएकालाई चिसोले अझै छिटो असर पुर्याउछ ।

त्यसैले चिसोबाट बच्न सके यस्ता खाले मौसमी स्वास्थ्य समस्याबाट बच्न सकिने चिकित्सकले बताएका छन् । डाक्टर एरिकका अनुसार तातो पानी तथा झोलिलो खानेकुरा धेरै पिउने, न्यानो कपडा लगाउने, बिहान बेलुका चिसोमा सकेसम्म ननिस्कने गरे चिसोबाट बच्न सकिने बताउनुभयो । चिसोमा निस्कनै परे न्यानो तथा बाक्लो कपडा लगाएर मात्रै निस्कन पनि डाक्टर एरिकले सल्लाह दिनुभयो । निमोनियाको समस्या भएमा चिकित्सकको सल्लाह अनुसार एन्टीबायोटिक प्रयोग गर्न डाक्टर बोलरको सुझाब छ ।