३ सयको मृत्यु भएपछि आर्मिनिया र अजरबैजानबीच अस्थायी युद्धविरामको सम्झौता

फाईल तस्विर !!

काठमाडौं,असोज,२४-आर्मिनिया र अजरबैजानबीच अस्थायी युद्धविरामको सम्झौता भएको छ।विवादित नागोर्नो-काराबाख क्षेत्रको स्वामित्वको विषयलाई लिएर केही समययता आर्मिनिया र अजरबैजानका सेनाबीच भिडन्त हुँदै आएको थियो।

दुवै देश युद्धविराम गर्न सहमत भएको रुसका विदेशमन्त्री सर्गी लाभरोभले जानकारी दिएका हुन्।रुसी मध्यस्थतामा मस्कोमा दश घण्टा भएको वार्तापछि दुवै देश युद्धविराम गर्न सहमत भएका हुन्।

यससँगै दुवै देशले हालैको यद्धमा मारिएका आफ्ना सेनाको शव बुझ्नेछन् र युद्धका क्रममा बनाइएका बन्दी छाडिनेछ।लाभरोभका अनुसार अब शान्ति स्थापनाको लागि दुवै देशबीच थप छलफलहरु अगाडि बढाइनेछ।

दुईहप्ता अगाडिदेखि दुवै देश युद्धमा उत्रिएका थिए। नागोर्नो–काराबाख क्षेत्रमा युद्ध सुरुवात भएपछि पहिलोपटक आर्मिनिया र अजरबैजान मस्कोमा औपचारिक छलफल गर्न तयार भएका थिए।

२७ सेप्टेम्बरबाट सुरुवात भएको उक्त युद्धका क्रममा ३ सयजनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।

नागोर्नो-काराबाख विवाद के हो?

नागोर्नो-काराबाख ४४ सय बर्ग किलोमिटरमा फैलिएको इलाका हो। यहाँ आर्मिनियाका इसाई र मुस्लिम तुर्क बसोबास गर्दछन्।

सोभियत संघको अस्तित्वको दौरान यस क्षेत्र अजरबैजान भित्रको एक स्वायत्त क्षेत्र बनेको थियो। अन्तर्राष्ट्रियस्तरमै यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्छ। तर यहाँ अधिकतम रुपमा आर्मिनियाका नागरिक बस्छन्।

दुई देशले यस भूमिलाई आफ्नो भएको दाबी गर्दछन्। सन् १९८० देखि सन् १९९० मा यस क्षेत्रका लागि दुई देशबीच युद्ध नै भएको थियो। सो क्रममा ३० हजार मानिस मारिनुका साथै १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।सन् १९९४ को युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ।  नेपालखबर