जापानद्धारा बीपी राजमार्ग पुनर्निमाण गर्न १ अर्ब ८ करोड सहयोग

काठमाडौं,कार्तीक,८-

बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई जापानले १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ ।अर्थ मन्त्रालयमा आज सहयोग सम्बन्धी पत्रमा हस्ताक्षर भएको हो ।अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

१६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को गोर्खा भूकम्पले क्षति पुगेको छ । काभ्रेको धुलिखेलबाट महोत्तरीको बर्दिबास जोड्ने उक्त राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो ।

कार्यक्रममा राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको जानकारी दिदै यसलाई पूरा गर्न २० वर्ष लागेको बताउनुभयो ।

भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पुर्‍याएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै शुरु हुने उहाँले बताउनुभयो । राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम सम्पन्न गर्ने उहाँले जानकारी दिनुभयो ।