सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग भोलिबाट

काठमाडौं,कार्तिक,

पोखरा प्रिमियर लिग (पिपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सुरुवाती संस्करण भोलिदेखि पोखरामा हुँदैछ ।फ्रेन्चाईज शैलीमा हुने प्रतियोगिताको पहिलो संस्करणमा पोखरा पल्टन, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स, चितवन राइनोज, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी ब्लुज गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा भोलि स्थानीय पोखरा पल्टनले विराटनगर टाईटन्ससँग खेल्नेछ । पोखरा रंगशालामा हुने खेलहरुका लागि झण्डै तीन महिना लगाएर अन्तर्राष्ट्रियस्तरको पिच तयार पारिएको आयोजकको दावी छ ।

प्रतियोगिताको लागि तयार पारिएको भौतिक पूर्वाधारले पोखरामा मात्रै नभएर सिंगो देशकै क्रिकेट विकासमा टेवा पुग्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा बताउँछन् ।

पिपिएलमा सहभागि टोलीहरुले विदेशका दुई जना खेलाडीलाई टोलीमा समावेश गर्न पाउने नियम छ । जसअनुसार हरेक टोलीका विदेशी खेलाडीहरु पोखरा पुगिसकेका छन् ।

प्रतियोगिताको आयोजक क्विन्स ईभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाका अनुसार विजेता टोलीले नेपाली क्रिकेटमा अहिलेसम्मकै धेरै २७ लाख रुपैयाँ पुरस्कार जित्नेछ ।

प्रतियोगिता यही कार्तिक २० गतेसम्म चल्नेछ । धनगढीमा धनगढी प्रिमियर लिग (डिपिएल) र काठमाडौंमा एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको सफल आयोजनापछि पोखरामा पनि पिपिएल क्रिकेट सुरु हुन लागेको हो ।साभार ईमेजखबरबाट