नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

फाईल तस्विर !!

काठमाडौं,मंसिर,१४-नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनु भएको छ।आफ्ना प्रतिद्वन्द्दी किशोर  प्रधानलाई पराजित गर्दै  वरिष्ठ उपाध्यक्षमा विजयी हुनु भएको हो।

शनिवार भएको ५४ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित भएको थियो । 

महासंघको विधान अनुसार ढकाल  अव निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व गर्नु हुनेछ।

निर्वाचन समितिका अनुसार ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्रप्रसाद ढकालले ५२२ र  किशोर प्रधानले ३७५ मत प्राप्त गर्नु भएको थियो । २० प्रतिशत मत भार रहेको वस्तुगतमा  ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याउनु भएको थियो । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत प्राप्त गर्नु भएको थियो।

यसअघि वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि पक्षका दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।

आइएमई ग्रूपका अध्यक्षसमेत रहेका ढकाल ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स, आइएमई अटोमोटिभ्सभन्दा धेरै व्यवसायिक संस्थामा संलग्न रहेका छन्।

यसैवीच, नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताउनु भएको छ ।सञ्चारमाध्यमका प्रतिनिधिहरुसँग संक्षिप्त प्रतिक्रिया दिंदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको बताउनुभयो ।