नेपाल-भारत नियमित हवाइ उडान खुला

फाईल तस्विर !!

काठमाडौं,मंसिर,१४-नेपाल-भारत नियमति हवाइ उडान खुला गर्ने निर्णय सरकारले गरेको छ।

कोरोना संक्रमण त्रासको कारण गएको चैतदेखि बन्द रहेको नेपाल- भारत हवाइ उडान खुला गर्ने निर्णय गएको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार अब हरेक दिन नेपाली ध्वजावाहक वायुसेवाले एउटा र भारतीय वायुसेवाले एउटा गरी दुईवटा उडान गर्नेछन्।

गएको चैतदेखि नेपालमा नियमित हवाइ उडान बन्द छ। गएको भदौ १६ गते सरकारले त्रिभुवन विमानस्थल खुला गरे पनि भारत र चीनले अझै नियमित अन्तर्राष्ट्रिय उडान खुला गरिसकेका छैनन्।

भारतले दुई देशका नागरिकलाई मात्रै सेवा दिलाउने सर्तमा उडान खुला गर्न नेपाललाई एक महिनाअघि प्रस्ताव गरेको थियो। सोही प्रस्तावको आधारमा सरकारले नेपाल भारत उडान खुला गर्ने निर्णय गरेको हो।