कञ्चनपुरमा दलित समुदायका लागि घर निर्माण कार्य सुरु

होम योगी,

कन्चनपुर, जेठ,३१-

जनता आवास कार्याक्रमअन्तर्र्गत कञ्चनपुरमा दलित समुदायका लागि घर निर्माण कार्य सुरु गरिएको छ ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले सो कार्यक्रमअन्तर्गत कञ्चनपुरका दलित समुदायका लागि घर निर्माण कार्य सुरु गरिएको हो ।

स्वीकृत नमूना र कार्याविधि २०७३ को व्यवस्था अनुसार सर्भेक्षण फाराम भरेका दलित समुदायलाई छनोट गरी घर निर्माण कार्यलाई अगाडि बढाइएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इन्जिनियर मोहनराज अवस्थीले बताए ।

पहिलो चरणमा दलित समुदायका एकल महिला, अतिविपन्न, अपाङ्गता र असहायलाई प्राथमिकतामा राखेर घर निर्माण कार्यलाई निरन्तरता दिइएको छ” उनले भने ।

जिल्ला समन्वय समिति कञ्चनपुरको गत पुस ३ गतेको निर्णय अनुसार साविकका सम्पूर्ण नगरपालिका र गाविसमा कार्यक्रम सञ्चलन गर्ने निर्णय गरिएको थियो ।

कार्यक्रमअन्तर्गत शुक्लाफाँटामा ४०, बेदकोटमा ५३, बेलौरीमा ३२, पुर्नवासमा ५९, महाकालीमा ७४, कृष्णपुरमा ४७, साविक वाइसे बिचवा र रैकवार विचवामा १९, बेलडाँडीमा २६, रामपुर विलासिपुर र श्रीपुरमा १७ तथा भीमदत्त नगरपालीकामा १ सय २४ गरी कुल ५ सय घर निर्माण भइरहेको इन्जिनियर अवस्थीले बताए ।

प्रत्येक घर निर्माणका लागि २ लाख १५ हजार २ सय ३९ रकम प्रदान गरिएको छ । राउटे र दलित समुदायका लागि कार्यक्रम सञ्चालन गरिए पनि छनोटमा अहिलेसम्म राउटे समुदायका व्यक्ति परेका छैनन् ।
सोही कार्यक्रमअन्तर्गत कैलालीमा पनि दलित, राउटे र मुस्लिम समुदायका व्यक्तिका लागि एक हजार २ सय ५० घर निर्माण हुने भएका छन् ।  रासस