महाकाली अञ्चल अस्पतालको दुर्दशा

बिरामीका लागि पंखाको व्यवस्थापन गर्न नसक्ने अस्पतालमा डाक्टर र कर्मचारीका कार्यकक्षमा लाखौंका एसी जडान गरिएका छन्

महेन्द्रनगर, १ असोज          महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा आउने बिरामी र कुरुवाका लागि पंखा नभएको बेला स्वभाविक प्रश्न उठ्छ– अस्पतालका डाक्टर र कर्मचारी पंखा बिना कसरी बस्छन् ?

तर, अस्पताल भित्रको वास्तविकता अर्कै फेला परेको छ । बिरामीका लागि पंखाको व्यवस्थापन गर्न नसक्ने अस्पतालमा डाक्टर र कर्मचारीका कार्यकक्षमा लाखौंका एसी जडान गरिएका छन् । अस्पतालमा आउने बिरामीले पंखाको हावा समेत नपाउने बाध्यता रहेको बेला डाक्टर र कर्मचारी एसीमा रमाइरहेका हुन्छन् । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने महाकाली अञ्चल अस्पतालले स–साना कुरामा समेत ध्यान नदिँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

स्वास्थ्य मन्त्रालयले आवश्यक डाक्टर नपठाएका कारण स्वास्थ्य सेवा नभएको उत्तर दिने अञ्चल अस्पताल प्रशासनले भएका संरचनाको समेत सदुपयोग गर्न नसकेको पाइएको छ । अस्पतालका कर्मचारी र डाक्टरले एसी जडित कोठामा बसेर कामकाज गरिरहेका बेला बिरामी र कुरुवाले पंखाको हावा समेत नपाएको गुनासो गरेका छन् । विगत ६/७ दिनदेखि अञ्चल अस्पतालमा बुवाको उपचार गराइरहेका बैतडीको साविकको उदयदेव गाविसका नविन चन्दले बिरामी वार्डमा पंखा समेत नहुँदा समस्या भएको गुनासो गरे ।

अस्पतालमा पंखा नभएको तथा भएको पंखाले समेत राम्ररी हावा नदिने भएपछि घरबाट टेबल पंखा लिएर गर्मी छलिरहेको उनले बताए । ‘उपचारमा संलग्न डाक्टर तथा नर्सलाई पंखा लगाइदिन भनेपनि त्यो काम अस्पताल प्रशासनको हो भन्दै टार्ने गरेका छन्,’ उनले भने, ‘१० शैया भएको वार्डको एउटा शैया काम नलाग्ने अवस्थाको छ भने वार्डमा एउटा मात्र बल्ब र ३ वटा मात्र पंखा छन् ।’ चन्द मात्र नभएर अस्पतालमा भर्ना भएर उपचार गराइरहेका धेरैजसो बिरामीले घरबाटै पंखा ल्याएर रातदिनको गर्मी कटाइरहेका छन् ।

आमाको उपचार गराइरहेका उल्टाखामका हरिश जोशीले पनि अस्पतालको व्यवस्थापन पक्ष निकै फितलो रहेको बताए । उनले मन्द गतिमा चल्ने पंखा र बत्ति गएको बेला तुरुन्त जेनरेटर नचलाइदिनाले बिरामी छटपटाउने गरेको बताए । ‘अस्पतालले आधारभूत कुरामा समेत ध्यान नदिँदा सेवाग्राहीले कष्ठ भोग्नुपरेको छ,’ उनले भने । अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी र कुरुवाबाट अनेक गुनासा आइरेहका बेला अञ्चल अस्पतालमा डाक्टर तथा कर्मचारीका लागि लाखौं मूल्य बराबरका एसी खरिद गरेर जडान गरिएको छ ।

अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जिल्ला विकास समितिको आर्थिक सहयोग र अस्पतालले खरिद गरेर १४ एसी, १० कुलर मेसिन र ४ वटा फ्रिज जडान भएको जानकारी दिए । ‘जसमा अस्पतालले खरिद गरेका १० एसीको मूल्य ६ लाख ५४ हजार ५ सय रुपैयाँ परेको छ,’ उनले भने । बिरामी वार्डमा पंखा नचलिरहेको सेवाग्राहीको गुनासोमा सूचना अधिकारी अवस्थीले समय–समयमा अस्पतालले पंखा मर्मत गरिराख्ने दावी गरे । ५ वटा वार्ड सञ्चालन रहेको अस्पतालमा अहिले ८० शैया सञ्चालनमा रहेको सूचना अधिकारी अवस्थीले बताए ।

मानसखण्ड वाट