बैशाख ३० गते नेपाल बन्दको घोषणा

अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएपछि नेपाल कम्युनिष्ट पार्टीको कडा विज्ञप्ती

काठमाण्डौं,बैशाख,२९-

प्रधनमन्त्री केपी ओलीले अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएपछि नेपाल कम्युनिष्ट पार्टीले त्यसको कडा शब्दमा बिरोध गरेको छ ।

शुक्रबार राति ओलीले अरुण तेस्रो मोदीलाई बुझाएलगत्तै शनिबार बिहानै नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै  ओलीले गरेको राष्ट्रघात बिरुद्ध कडा संघर्षमा उत्रिने उद्घोष गरेका छन् ।

ओली-प्रचण्ड दलाल संसदीय व्यवस्थाका पहरेदार बनेको भन्दै महासचिव विप्लवले उनीहरु आफैले बनाएको संविधानमा किटान गरिएका जनताका अधिकारहरुलाई समेत कुल्चिएर नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतामाथि गम्भीर आघात पुग्ने काम गरिरहेका बताएका छन् ।

महासचिव विप्लवद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ- ‘केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।

ओली नेतृत्वको सरकार मोदीका सामू लम्पसार परेपछि सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भैराखेको अवस्थामा महासचिव विप्लवले कडा संघर्षको घोषणा गरेका हुन् । ‘जनताको स्तर र केही संघ÷संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ ।

महासचिव विप्लवले भनेका छन्- ‘ मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोध गर्नुपर्ने अनिवार्यता ठान्दै हाम्रो पार्टीले यही वैशाख ३० गते भोली आइतबारका दिन नेपाल बन्दको घोषणा गरेका छ ।

ओलीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोधमा नेपाल बन्द आवहान गरिएको विप्लवले बताएका छन् । उनले राष्ट्रघातको विरोधमा गरिएको नेपाल बन्दलाई सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धता जनाइदिन समेत अपिल गरेका छन्  ।

नेपाल र नेपाली जनताको पूर्ण मुक्तिका लागि निरन्तर संघर्ष गर्दै आएको नेकपाका कैयौं नेता र कार्यकर्ताहरुलाई सरकारले दिनदिनै गिरफ्तार गर्ने, बेपत्ता बनाउने र चरम यातना दिने गरेको भन्दै उनले आफ्नो फासिस्ट चरित्र सच्याउन ओली सरकारलाई चेतावनी समेत दिएका छन् ।सभार : सन्चार केन्द्रबाट

प्रेस विज्ञप्ती