भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल : देउवा

काठमाडौँ,बैशाख,२९-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा आएको बधाई दिँदै भ्रमण सफल भएको बताउनु भएको छ। मोदीसँगको भेटमा देउवाले भ्रमणले जनकपुर,मुक्तिनाथ र पशुपतिनाथको धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याएको बताउनु भएको थियो ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका अनुसार भेटमा मोदीले आफ्नो नेपाल भ्रमण विशुद्ध धार्मिक रहेको उल्लेख गर्दै कुनै राजनीतिक भ्रमण नभएको बताएको जानकारी दिनुभयो । मोदीले भारतको सवा सय करोड जनताको केही अंश नेपालमा धार्मिक भ्रमणमा आउँदा नेपालको धार्मिक पर्यटनमा टेवा पुर्‍याउने बताउनु भएको थियो ।
 
नेताहरुसँगको भेटमा मोदीले नेपालमा धार्मिक पर्यटनको सम्भाव्यता धेरै रहेको बताउँदै पर्यटनसँग जोडेर दुई देशको विकासमा अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
 
उपसभापति निधिका अनुसार मोदीले देउवालाई तीन तहको चुनाव सफलतापूर्वक सम्पन्न गराएको बधाई दिएको जानकारी दिनुभयो ।मोदीले नेपाली कांग्रेससँगको सम्बन्ध पूर्ववत् नै रहेको बताएको निधिले जानकारी दिनुभयो ।
 
भेटमा कांग्रस नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि र प्रकाशसरण महतले मोदीको नेपाल भ्रमणले धार्मिक पर्यटनमा टेवा पुगेको बताउनु भएको थियो । साभार कान्तीपुरबाट