पहिलो पटक आज अन्तरप्रदेश परिषद् बैठक बस्दै

काठमाडौं,मंसिर,२३-

प्रदेश सरकार गठन भएको १० महिनापछि पहिलो पटक आज अन्तरप्रदेश परिषद् बैठक बस्दै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा अन्तरप्रदेश परिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवसहित केन्द्र सरकारका मन्त्री, राज्यमन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष, महान्यायाधिवक्ता, महालेखा परीक्षक सहभागी हुँदै छन् ।

बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइसकेका छन् । बैठकमा संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, आवश्यक कानुन निर्माणलगायतका विषयमा छलफल हुनेछ ।

बैठकबाट संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, विकास योजनाको कार्यान्वयन, योजना हस्तान्तरण, कार्यालय हस्तान्तरण, सांगठनिक संरचना, कर्मचारी समायोजन, प्रहरी प्रशासनको परिचालन, आवश्यक कानुन निर्माण जस्ता विषयमा ठोस निष्कर्ष आउने अपेक्षा मुख्यमन्त्रीहरुले राखेका छन् ।

यसअघि गत भदौ २४ गते अन्तरप्रदेश परिषद्को बैठक बस्ने तय भएको थियो ।तर भदौ २१ गते मुख्यमन्त्रीहरु पोखरामा भेला भएर संघीय सरकारलाई दबाब दिने निर्णय गरेपछि असन्तुष्ट बनेका प्रधानमन्त्री ओलीले बैठक नै स्थगित गरेका थिए ।तर आज बस्ने बैठकमा पनि मुख्यमन्त्रीहरुले पोखरा भेलामा तय गरेका एजेन्डालाई नै प्रस्तुत गर्ने तयारी गरेका छन् ।ईमेजखबरबाट