नेकपा बैठक बहिस्कारः नेपाल, खनाल, श्रेष्ठ र गौतम आक्रोशित

काठमाडौं,मंसिर,२२-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिँदै गएको आन्तरिक असन्तुष्टि सतहमै छताछुल्ल भएको छ । निर्धारित समयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सचिवालय बैठकमा उपस्थित नभएको भन्दै चारजना सदस्यले आजको बैठक नै बहिस्कार गरेका छन् ।

शनिबारका लागि बोलाइएको सचिवालय बैठकमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल निर्धारित् समयमा उपस्थित नभएपछि माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम आक्रोशित मुद्रामा प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका थिए ।

सचिवालय बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठक बहिस्कार गर्ने नेताहरु समयमै बालुवाटार पुगेका थिए ।आधा घन्टासम्म कुर्दा पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल, रामबहादुर थापा र ईश्वर पोखरेल बैठकमा नपुगेपछि उनीहरु गम्भीर मुद्रामा बैठक बहिस्कार गर्दै बालुवाटारबाट बाहिरिएका थिए ।

बैठकमा उपस्थित हुन के कारणले ढिलाइ भयो ? भन्ने कुनै जानकारी नगराएपछि बहिस्कार गर्ने सचिवालय सदस्यले आफूहरु अपमानित भएको महसुस गरेका थिए । नेतृत्वले एकलौटी निर्णय गर्न थालेको र पार्टी एकतामा गम्भीर नभएको आरोप बैठक बहिस्कार गर्ने नेताहरुले लगाएका छन् ।

सन्चारकर्मीहरुको जिज्ञासामा नेता वामदेव गौतमले अध्यक्षद्वयको व्यवहारले आफूहरु अपमानित भएको बताउनुभयो । अध्यक्षद्वय प्रधानमन्त्रीको सरकारी निवासभित्रै क्यान्सर रोगबाट पीडित तत्कालीन माओवादी केन्द्रकी पूर्वसभासद तथा नेकपाकी नेत्री मणी खम्बुसँग भेटघाट गरिरहेका थिए ।

आफूहरु काममा व्यस्त भएको पनि उनीहरुले सचिवालय सदस्यहरुलाई जानकारी गराएनन् ।त्यसो त समयको व्यवस्थापन गर्न नजानेको भन्दै यसअघि पनि प्रधानमन्त्री ओलीलाई आरोप लाग्दै आएको छ ।शनिबारको घटनाले नेकपाभित्र गम्भीर मतभेद छ भन्ने देखाएको छ । भित्रभित्रै गुम्सिएको आक्रोश शनिबार प्रकट भएको हो । यसले सचिवालयभित्र नयाँ समीकरण बन्दैछ भन्ने संकेत पनि दिएको छ ।ईमेजखबरबाट