विभाजनका घाउ बिर्सिंदै माओवादीहरू एक हुँदै छौं : प्रचण्ड

विप्लव नेतृत्वको सिंगो जिल्ला समिति माओवादी केन्द्रमा ‘समाहित’

विभाजनका घाउ बिर्सिंदै माओवादीहरू एक हुँदै छौं : प्रचण्डकाठमाण्डौं,माघ,२५-सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभाजित माओवादीहरू एक हुँदै गरेको दाबी गर्नुभयो।

आज (मंगलबार)बिहान आफ्नो निवास (खुमलटार) मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँ हुनुको कुनै विकल्प नरहेको बताउनुभयो।

‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्’, प्रचण्डले भन्नुभयो, ‘हामी यति ठूलो परिवर्तनका वाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।’ 

अहिले बिस्तारै विभाजनका घाउ बिर्सिंदै र देशको वस्तुगत अवस्था मनन गर्दै माओवादीहरू एक ठाउँमा केन्द्रित हुँदै गएको दाबी उहाँले दाबी गर्नु भयो। 

‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं’, उहाँले भन्नुभयो, ‘हामीलाई कसैले परास्त गर्न सक्दैन।’ अध्यक्ष प्रचण्डले नवप्रवेशी नेता तथा कार्यकर्तालाई पार्टीमा उचित जिम्मेवारी दिइने बताउनुभयो । विप्लव नेतृत्व पार्टीको सिंगो जुम्ला समिति नेकपा माओवादी केन्द्रमा ‘समाहित’ भएको छन् ।