स्थानीय तह निर्वाचन वैशाख ३० मा,आयोगले सुरु गर्‍यो निर्वाचन प्रक्रिया

काठमाडौं,माघ,२५-सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते सम्पन्न गर्नेगरी चुनावको मिति घोषणा गरेको छ ।मिती घोषणा भएकै दिन निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, यातायातका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको छ ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्निचरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको हो ।

नेपालको संविधानको धारा २४७ मा निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था अनुसार आयोगले मन्त्रालयमार्फत पत्राचार गरेको आयोग प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो ।

मन्त्रालयमार्फत गरेको पत्राचारमा आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनका लागि करिव दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न ७ सय ५३ वटै स्थानीय तहलाई पछि फरक नपर्ने गरी तयार गर्न लगाई उक्त विवरण एकीकृत गरी २०७८ माघ मसान्तभित्र अनिवार्य रुपमा उपलब्ध गराउन आयोगले भनेको छ ।