एकै ठाउबाट नेपालका पन्ध्र जिल्ला देख्न सकिने सल्यानको कुमाख

नरेश खड्का/

दाङ,असोज,२०-

सल्यान जिल्ला धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण जिल्ला हो । यस जिल्लाको पहिचान झल्काउन यहाँका लेखबेशी, पाखापखेरा, तालतलैया, मठमन्दिर, जडीबुडी आदीले महत्वपूर्ण भूमिका खेलेका छन् । यहाँ रहेको कुमाख सल्यानीको पहिचान संग जोडिएको छ ।

समुन्द्री सतह बाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख बाट नेपालका १५ वटा जिल्ला देख्न सकिन्छ । यस्तै नेपालगञ्ज र भारतको रुपैडिया सम्मका दृश्यसम्म देख्न सकिन्छ । जिल्लाको कुमाखमालिका गाउपालिकामा रहेको यस कुमाख बाट पुर्वका धौलागिरी, सिस्ने, पुथा लगायत हिमाली क्षेत्रका अधिकांश हिमाल हेर्न सकिन्छ ।

सल्यानमा रहेको कुमाख भ्यू टावर

यस्तै : कुमाखबाट एकै पटक हिमाल देखि तराइसम्म अवलोकन गर्न सकिन्छ । संघिय संरचना निर्माणमा यस कै नामबाट एउटा स्थानिय तहको नाम पनि निर्माण भैसकेको छ । साबिक जिमाली, मर्मपरिकाँडा र सिद्धेश्वरीको केन्द्रमा रहेको डाँडो कुमाख पहाडका जगमा अन्य गाउहरु पनि थिए । अहिले जिमाली, मर्मपरिकाँडा, बडागाउ, स्वीकोट र कालागाउ मिलेर कुमाखमालिका गाउपालिका निर्माण भैसकेको छ ।

अहिले ढोरचौर र कुमाखमालिकाको विचमा पर्ने कुमाखमा कोजाग्रत पुर्णीमाको अवसरमा मेला लाग्ने गर्छ । यस कुमाख पहाडका विभिन्न स्थानमा दर्जनौ आकर्षक गुफा रहेको र जुन पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानीय बासिन्दा कर्ण चलाउनेले बताउनु भयो । ‘कुमाखको डाँडामा नै आकर्षक र रमणिय सिद्ध गुफा छ, जुन गुफामा पहिला पुजा तथा जलधारा चढाएर श्रद्धालुहरु कुमाखको टाकुरामा रहेको मन्दिरमा पुजा गर्न जाने गर्छन,’ उहाँले भन्नु भयो ।

गुफामा रहेका गाइका थुन जस्ता मानिने ढुंगाका थुनबाट बाह्रैमास पानी चुहिन्छन । टेक्दा टेक्दा बनेका केहि सिढि तथा पाइताबाट झरेपछि श्रद्धालुहरु आफुले लिएको धार ओढारमा बसेका पुजारीबाट पुजाआजा गराई सिद्धलाई धार हाल्छन । पानी बगेको जस्तै आवाज आउने र चिसो हावा आउने गुफाको सम्बन्धलाई कालागाउको थदरा र बाँझकाँडाको मोख्लाका गुफासंग जोडिन्छ ।

सिद्धको गुफाबाट कुकुर र विरालो ति २ स्थानबाट निस्किएको भन्दै अग्रजहरुले सुनाएको किवदन्ती स्थानिबासी सुनाउछन र उनिहरु ५० मिटर भन्दा भित्र प्रवेश गर्न नसकिने बताउछन । अहिले कुमाख सम्म जाने बाटोको स्तरउन्नती गरिएको छ ।