इटालियन सिरी ए: युभेन्टसद्वारा बोलोग्ना पराजित

काठमाडौं,असार,९-क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलमा युभेन्टसले इटालियन सिरी एमा बोलोग्नालाई २–० ले पराजित गरेको छ।

बोलोग्नाको घरेलु मैदानमा सोमबार राति भएको खेलमा युभेन्टसले पहिलो हाफको २२औं मिनेटमा अग्रता लिएको थियो। स्टेफानो देन्स्विलले पेनाल्टी क्षेत्रभित्र म्याथिस डी लिग्टलाई फाउल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै युभेन्टस्लाइ अग्रता दिलाएका थिए।

खेलको ३६औं मिनेटमा पाउलो डिबालाले अर्को गोल थप्दै अग्रता दोब्बर पारे। जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोसँग ४ अंकको अग्रता बनाएको छ। युभेन्ट्सको २७ खेलमा ६६ अंक छ भने एक खेल कम खेलेको लाजियोकको ६२ अंक छ।

गएराति नै भएको खेलमा एसी मिलानले लेच्चेलाइ ४–१ को फराकिलो अन्तरले पाखा लगायो।जितसँगै एसी मिलान अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ। एसी मिलानले २७ खेलबाट ३९ अंक बनाउदा समान खेल खेलेको लेच्चे भने २५ अंकमा १८औं स्थानमा छ।