प्रतिनिधि सभाको सभामुख चयनका लागि माघ ५ गते चुनाव

काठमाडौं,पुष,२६-प्रतिनिधि सभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने भएको छ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वासको मत लिइसकेपछि बैठकको अध्यक्षता गरिरहनु भएका जेष्ठ सांसद पशुपति शमशेर राणाले उक्त जानकारी गराउनु भएको हो।

त्यसका लागि संघीय संसद सचिवालयले माघ ३ गते सूचना निकाल्नेछ।प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन्।प्रधानमन्त्री दाहालले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

सभामुखका लागि सत्तारुढ गठबन्धनले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाएको छैन।सत्ता गठबन्धनमा रहेका दलहरुले भित्री रुपमा आ–आफ्नो पार्टीबाट सभामुखको दाबी गरेता पनि बाहिर भने को सभामुख हुने भन्ने कुरा ल्याएका छैनन् ।

दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने बेलामा राष्ट्रपति र सभामुख एमाले,उपराष्ट्रपति र उपसभामुख माओवादी केन्द्रको भागमा राख्ने सहमति बनेको भनिएतापनि त्यो बाहिर आएको छैन।जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपति र राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुखमा दाबी गर्दै आएका छन् ।