काठमाडौं,भदौं,३१-नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाएको टिप्पणी गर्नुभएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग नेता थापाले कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।
गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने गर्दा प्रतिरक्षा गर्ने अवस्था नभएको भन्दै नेता थापाले पत्रकारहरुसँग भन्नुभयो, ‘म कांग्रेसको कार्यकर्ता, मेरो सरकारले भनेर कामको रक्षा गर्न सक्ने अवस्था छैन । हामी सबै खुम्चिनु परेको छ ।
मन्त्रिमण्डलको पूर्णता किन नगरेको भन्ने कुरालाई किन्तु परन्तु भनेर प्रतिरक्षा गर्नै सक्दिँन । कतिपय नगर्नुपर्ने काम भएका छन्, गर्नुपर्ने काम भएको छैन । समयमा गर्नुपर्ने काम भएको छैन । मसँग उत्तर नै छैन ।’
अहिलेको सरकारको सफलता र असफलतासँग कांग्रेसको चुनावी भविष्यसमेत जोडिएको भन्दै उहाँले थप्नुभयो, ‘यो सरकारको सफलतासँग कांग्रेसको चुनावी सफलता जोडिएको छ । अब ओली सरकारले गरेका काम कारबाही हाम्रा एजेण्डा बन्दैन । त्यसलाई जनताले बिर्सिसके ।’