नेपाल आज हङकङसँग भिड्दै

काठमाडौं, चैत १७-

बंगलादेशमा जारी इमर्जिङ कप क्रिकेटको अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ ।समूह चरणमा लगातार दुई खेल हारेका यी दुई टोली आज प्रतिष्ठाको लडाईंमा छन् । एसियाली तथा विश्वस्तरका विभिन्न प्रतियोगितामा नेपाल र हङकङ परिचित प्रतिद्वन्द्वी हुन् ।

एक अर्काको खेल रणनीति राम्रोसँग बुझेका दुबै टोली आजको खेल जित्दै दुई अंकको साथ बंगलादेशबाट घर फर्किने अभियानमा हुनेछन् ।
दुबै टोलीलाई समूहमा पाकिस्तान र बंगलादेशले हराएका हुन् ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनको पराजय झेलेको थियो ।

ईमर्जिङ टिम्स एसिया कप क्रिकेटमा एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको राष्ट्रिय टोली तथा चार एसोसिएट राष्ट्र नेपाल, हङकङ, अफगानिस्तान र मलेसियाका सिनियर टोली सहभागी भएका छन् ।