अस्ट्रेलियामा अलपत्र परेका २५९ जना नेपालीलाई ल्याईदै

काठमाडौं,असार,९-अस्ट्रेलियामा अलपत्र २ सय ५९ नेपाली नेपाल फर्कदै छन् । कोरोना भाइरस महामारीका कारण अलपत्रमा परेका नेपालीलाई आज (मंगलबार) पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत ल्याउन लागिएको हो ।

जहाज सिड्नीबाट स्थानीय समय अनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए। साथै आजकाे जहाजमा फर्किनेमा न्युजिल्यान्डका ११ नेपाली पनि छन्। नेपाल फर्किन उनीहरू आजै बिहान अस्ट्रेलिया विमानस्थल आइपुगेका हुन्।

नेपाल फर्किन १३ सय जनाले फाराम भरेका छन्। तीमध्ये पहिलो चरणमा आज २ सय ५९ जनालाई काठमाडौं पठाउन लागिएको नेपाली दूतावासले जानकारी दिएको छ।फर्किने नेपाली आफैंले भाडा तिर्नुपर्नेछ। प्रतियात्रु भाडा २ हजार ३ सय ५० अस्ट्रेलियन डलर तोकिएको छ।

जहाज चढ्नुअघि सबै यात्रुको स्वाब परीक्षण गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको दूतावासले जनाएको छ। नेपाल आइपुगेपछि पनि उनीहरूले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले बनाएको छ।दूतावासका अनुसार नेपाली उद्धारका लागि अब दोस्रो उडान जुन २७ मा मेलबर्नबाट हुनेछ ।