तीनदिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन टीकापुरमा सम्पन्न

सात प्रदेशको संरचना कुनैपनि हालतमा नमान्ने उद्घोष

कैलाली,भदौ,९-

कैलालीको टीकापुरमा आयोजित तीनदिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनले लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट/थारुवान राष्ट्रिय मोर्चा गठन गर्दै तीनदिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

                  १५ बुँदे टीकापुर घोषणापत्र जारी ।

सम्मेलनले थरुहट आन्दोलनलाई नयाँ सिरामा पुर्‍याउनुका साथै पहिचानका पक्षधरलाई एकताबद्ध गरेको घोषणापत्रमा उल्लेख छ ।

बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत् भएको र सद्भाव कायम गर्न राज्य नै तदारुकताका साथ लागेको सम्मेलनले पुष्टि गरेको पनि घोषणापत्रमा उल्लेख छ ।

मधेस/थरुहट आन्दोलनकाक्रममा भएका घटनाको छानबिनका लागि गठित गिरिशचन्द्र लाल आयोगसहितका विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई घोषणापत्रमार्फत् माग गरिएको मोर्चाका प्रवक्ता मीनराज चौधरीले जानकारी दिनुभयो ।

भदौ ८ गतेका दिन ‘कर्फ्यु’ जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत गरिएको छ ।

यस्तै, संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएका १३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरिएको छ ।

सम्मेलनले सात प्रदेशको संरचना कुनैपनि हालतमा नमान्ने उद्घोष गर्दै जातीय पृष्ठभूमिका आधारमा पहिचानसहितका ११ प्रदेश हुनुपर्ने र त्यसमा एक प्रदेश थरुहट/थारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग सारिएको छ ।

यस्तै, संघीय निजामती ऐन संशोधन गरी राज्यका सबै निकायमा जातीय जनसंख्याको आधारमा लोकसेवा आयोगले विज्ञापन जारी गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

थरुहट सहिद परिवार, घाइते, राजबन्दी तथा परिवारको भरणपोषण तथा आश्रित बालबालिकाको शिक्षा–दीक्षाका लागि थरुहट मुठीदान अभियान चलाउने सो घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनले तीन चरणका आन्दोलनको कार्यदिशासमेत तय गरेको छ ।पहिलो चरणअन्तर्गत् तराईका जिल्लामा प्रचारात्मक तथा संगठन विस्तारको कार्यक्रम अगाडि बढाइने भएको छ ।

दोसो चरणमा कोणसभा, विरोधसभा, र्‍याली, जनप्रदर्शनका कार्यक्रमलाई तराईका जिल्लामा सशक्तरुपमा सन्चालन गर्ने रणनीति तय गरेको प्रवक्ता चौधरीले बताउनुभयो ।मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई ‘कालो दिनका रुपमा मनाउने जनाएको छ ।

‘टीकापुर घटना’ घटेकै दिन पारेर भदौ ७ गतेदेखि टीकापुरमा थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सुरु भएको थियो । सम्मेलनमा देशभरबाट ठूलो संख्यामा थारु समुदाय सहभागी थिए । ईमेजखबरबाट