संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्छ: कर्ण

काठमाण्डौं,फागुन १२-मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताउनु भएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले सरकारले संसदमा टेबुल गराएको संशोधन प्रस्तावमा उल्लेख गरिएका विषयहरु नागरिकता, भाषा र सिमांकन परिमार्जनसहित पारित गर्नुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो नागरिकताको सवालमा वैवाहिक अंगीकृतलाई अधिकार दिने भनेको हो । भाषामा पहिले पाएको अधिकारलाई पनि खोसिएको छ । त्यसलाई सुनिश्चित गर्नुपर्छ । उहाँले मोर्चाले भनेजस्तोगरी प्रस्ताव परिमार्जनसहित पारित भए संविधान कार्यान्वयनमा साथ दिने बताउनुभयो ।

मधेशी मोर्चा सधैं निर्वाचनको पक्षमा रहेको जिकिर गर्दै कर्णले थपे,‘सरकारले पानी खन्याईरहेको छ, तर कुन भाँडो हो भन्ने कुरा थाहा छैन । उहाँले स्थानीय तहको पुनर्संरचना गर्दा संख्यालाई प्रतिनिधित्व नगरेकोमा आपत्ति जनाउनुभयो ।  उहाँले आयोगले अघि सारेको रिपोर्ट आफूहरुलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिनुभयो ।