पशुपती मन्दिर परीसरमा सवारी जान नपाउने

काठमाडौं, पुस ११-

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरमा मंगलबार (आज)बाट सवारी–साधन प्रवेशमा रोक लगाइएको छ  काठमाडौंको ठमेललाई सवारीमुक्त गरेको ट्राफिक प्रहरीले पशुपति मन्दिर परिसरमा पनि गाडी लैजान निषेध गरेको हो ।

पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने–जाने गर्न दिने गरिएकामा अब रोकिएको हो । गाडीकै कारण भक्तजनलाई हिँडडुलमै अप्ठ्यारो भएको गुनासो आएपछि ट्राफिकले नयाँ व्यवस्था गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले पशुपति परिसर विश्व सम्पदा सूचीमा रहेको र श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्न गाडी प्रवेश रोकिएको बताउनुभयो ।

शवबाहन र एम्बुलेन्सलाई भने छुट दिइनेछ । यस्तै, त्यहीँभित्र घर भएकाहरुले भने सवारी पास पाउनेछन् । शिवरात्रि, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वमा पशुपतिनाथ मन्दिर वरपर सवारी–साधन लैजान नदिइने गरेपनि अरु बेला रोकतोक थिएन ।

अब वनकाली र उमाकुन्डभन्दा भित्र गाडी लैजान दिइनेछैन भने गाडी पार्किङका लागि वनकालीको चौर र उमाकुन्डमा ठूलो स्थान छुट्याइएको छ ।

गौशाला प्रहरी कार्यालयछेउबाट वनकालीतर्फ एकतर्फीरुपमा जान पाइने भएपनि फर्कन भने चारमूर्तितर्फको बाटो प्रयोग गर्नुपर्ने व्यवस्था पनि ट्राफिक प्रहरीले गरेको छ ।