सरकार गठनभन्दा पहिले पार्टी एकता : पोखरेल

विराटनगर, पुस ११-

बिनाविभागीय मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताउनु भएको छ । प्रेस सेन्टर मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पस्ट पार्नुभयो ।

वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको प्रसंग उल्लेख गर्दै उहाँले वाम गठबन्धनबाहेकको सरकार जनादेशविपरीत हुने उल्लेख गर्नुभयो । निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक र नैतिक दृष्टिकोणले राजीनामा गर्नुपर्ने माग गर्नुभयो ।

राष्ट्रियसभाको अध्यादेशको सन्दर्भमा उनले प्रमुख राजनीतिक दलहरु मिलेर यस समस्याको समाधान गर्नुपर्ने र दलहरुकै सहमतिमा गभर्नरको पनि नियुक्ति हुनुपर्ने विषयमा जोड दिनुभयो । मधेसलाई द्वन्द्वको थलो बन्न नदिनका लागि मधेसको समृद्धिका लागि ठोसरुपमा विकास–निर्माणलगायतका कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सामाजिक न्याय, समानता, समृद्धि र समाजवादका नयाँ नीतिका साथ मुलुकको विकासमा आउँदो सरकारले कार्य गर्ने उल्लेख गर्दै उनले जनताले सुविधा र सुरक्षा, स्थिरतासमेत खोजेकाले वाम गठबन्धनको ‘प्रगतिशील एजेन्डा’लाई कार्यान्वयन गर्न जनादेश दिएको पनि उनले बताउनुभयो  । रासस