कांग्रेस नेता निधि र चिनिया उद्योगीबीच भेटबार्ता

काठमाडौं,पुस,११-

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिको प्रतिनिधिमण्डलबीच मंगलबार भेटबार्ता भएको छ ।

यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपालसंगको व्यापारका बारेमा कुराकानी गर्नुका साथै नेपालमा उत्पादित कच्चा पदार्थको चीनमा पर्याप्त सम्भाबना रहेकोले त्यसमा सहकार्य गरी अघि बढ्न आफूहरु तयार रहेको बताएका थिए ।

प्रतिनिधिमण्डलले नेपालमा लगानीको क्षेत्र पहिचान गरी आफूहरु त्यसमा लगानी गर्न समेत तयार रहेको उल्लेख गरेका थिए ।चिनिया उद्योगी–व्यबसायीसंगको भेटमा पूर्ब उपप्रधान एवं गृहमन्त्री निधिले व्यापार व्यबसायका माध्यमबाटै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताउँदै यो प्रकृयामा सरकारी अधिकारीहरुको संलग्नता हुनु पर्नेमा जोड दिनुभयो ।

साथै उहाँले नेपाल–चीन व्यापारको प्रमुख मार्ग तातोपानी नाका २०७२ को भूकम्पका कारण बन्द भएपछि व्यापार ठप्प भएको भन्दै सो नाका चाँडो खुलाउनका लागि पहल गर्न चिनिया उद्योगी–व्यबसायी प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराउनु भयो ।

कांग्रेस नेता निधिले आफू सरकारमा भएका बेला नेपाल भ्रमणमा आएका चिनिया प्रतिनिधिमण्डलसंग पनि व्यापार बिस्तारका लागि तातोपानी नाका संचालनमा ल्याउन जोड दिएको उल्लेख गर्नु भएको थियो ।