रुकुम जिल्लामा रहेको ६ वटा तुइन विस्थापित

रुकुम,चैत  ३०-
रुकुम जिल्लाका ६ वटा तुइन विस्थापित भएका छन्। तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने सरकारी योजनाअन्तर्गत ६ वटा तुइनलाई विस्थापित गरेर झोलुङ्गे पुल बनाइएको हो। रन्मामैकोटको पुक्चिङ, तकसेराको खालीवाङ, काँडाको किमुबोट, काँक्री रुजीखोला, जिपु ज्युला स्यालापाखा र भलखोलाका तुइनहरु विस्थापित भएका हुन्।

४४ लाखदेखि १८ लाखसम्ममा झोलुङ्गे पुलहरु निर्माण भएको जिल्ला प्राविधिक कार्यालय रुकुमका इञ्जिनियर पहल पुनले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी तीनवटा तुइन विस्थापित हुने क्रममा छन्। छिपतरा प्वाङ, धौलागाढ सिस्ने र पेदीखोला प्वाङका तुइन विस्थापित भई झोलुङ्गे पुल निर्माण हुने काम अन्तिम चरणमा पुगेका र यस आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण भइसक्ने उहाँले जानकारी दिनुभयो ।

यसअघि झोलुङ्गे पुल नहुँदा यहाँका सयौँ मानिसहरु तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए। तुइन विस्थापित गरेर पुल निर्माण हुँदा स्थानीयहरुलाई सहज भएको र आफूहरु खुसी रहेको रुजिधन बुढाले बताउनुभयो । तुइन विस्थापित भएसँगै स्थानीयको दैनिकी सहज बन्दै भएको
पुनले जानकारी दिनुभयो छ।