अन्तर्राष्ट्रियस्तरको बाख्रा पालन तालिम बाँकेको खजुरामा हुँदै

नेपालगन्ज,चैत्र,०९-
बाँकेमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको बाख्रा पालन तालिम हुने भएको छ ।

खजुरामा रहेका हिल पार्क कृषि तथा पशुपालन फार्मले उक्त तालिम सञ्चालन गर्न लागेका हुन् । चैत १२ गतेदेखि हुने तालिम तीन दिनसम्म चल्ने छ । बाँके, बर्दिया, अर्घखाँची लगाएतका जिल्लाका युवा व्यवसायी सहभागी हुनेछन् ।

उक्त तालिममा नेदरल्याण्डका कृषि विज्ञ ग्रेड बोइन्कले प्रशिक्षण दिने आयोजक हिल पार्क कृषि तथा पशुपालन फार्मका सञ्चालक तुलबहादुर कँडेलले जानकारी दिए ।

उनका अनुसार उक्त तालिममा मासु उत्पादन, प्रजनन, भेटनेरीसम्बन्धी प्रयोगात्मक सीप सिकाइने छ । यो तालिमले बाँकेलगायत देशलाई ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । तालिममा २५ जना सहभागी हुने बताइएको छ ।