ट्युमर पिडित बोरीलाल अहिरको शिक्षण अस्पताल नेपालगन्जमा ६२ वर्ष पछि उपचार

नेपालगन्ज,चैत्र,१०-
बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ६  निवासी ट्युमर पिडित ७२ वर्षिया बोरीलाल अहिरको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जद्वारा निशुल्क अप्रेसन गरिएको छ।

आफ्नो बायाँ गालामा १० वर्षको उमेर देखि ट्युमर पिडित अहिरको चैत्र ८ गते शुक्रबार मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका टिमको सहयोगमा उपचार गरिएको आज (आइतबार) अस्पताल टिमले प्रेष विज्ञप्ती मार्फत जानकारी दिएको छ।

टिमले औषधि उपचार, बेड चार्ज व्यहोर्ने गरि अस्पतालका डेन्टल सर्जन डा.द्वारिका प्रसाद बजगाई, डा. अरुण कुमार महत र नाक कान घाँटी रोगका डा. अन्सु शर्मा, एनेस्थेटिक डा. नबिन रेग्मी, डा. कपिल पोखरेल लगायतको चिकित्सक तथा प्राविधिक कर्मचारीहरुको टिमले सफल अप्रेसन गरि निज बिरामीको सामान्य अवस्था रहेको चिकित्सक टिमले जानकारी दिएको छ।

बिरामी अहिरको बायाँ गालामा १० वर्षको उमेर देखि पलाई हाल सम्म आर्थिक समस्याले गर्दा र आफ्ना बुबा आमा गुमाई कोहि आफन्तजन पनि नभई उपचार गर्न नसकी रहेको परिपेक्ष्यमा अन्नपूर्ण पोष्टमा समाचार आईसके पछि शिक्षण अस्पताल नेपालगन्जले उपचारमा सहयोग गरेको प्रशासन प्रमुख कुमार अधिकारीले जानकारी दिए।