स्थानीय तहको पहिलो चरणको चुनावमा ७१ प्रतिशत मत खस्यो

मतदाताको उत्साहजनक सहभागिता

काठमाडौं ,वैशाख,३१-

आज भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जनताले उत्साहजनक सहभागिता जनाएका छन् । समग्रमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

३४ जिल्लाका ३९२१ मतदान स्थलमा विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेपछि सकिएको थियो । प्रदेश नम्बर ३, ४ र ६ का ३८३ स्थानीय तह मध्ये २८१ मा भएको निर्वाचनमा भएको थियो । डोल्पाको शेफोक्सुन्डो र मनाङको नार्फूमा निर्वारोध भइरहेको छ ।

मतदान सकिएलगतै आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा जनसहभागिता उत्साहजनक रहेको बताए । उनका अनुसार समग्रमा ७१ प्रतिशत मत खसेको छ ।

तीन स्थानमा मतदान स्थगित

दोलखा, काभ्रे र कोलिकोट गरी तीन स्थानमा मतदान स्थगित भएको छ ।दोलखाको मेलुङ गाउँपालिकाको सत्येश्वरमा बुथ कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु भएको छ । घटनापछि त्यहाँको मतदान स्थगित भएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका ४ वेथिनकोट मतदान केन्द्रमा मतदान नै सुरु हुन सकेन । शनिबार गोली लागेर एक जनाको मृत्यु भएपछि त्यहाँ मतदान हुन सकेन । दिनभर वार्ता भएपनि सफल हुन सकेन ।

यस्तै कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान स्थलको पनि मतदान स्थगित भएको छ । मतपेटिका लुट्न आएको समूह र सुरक्षाकर्मीबीच झडप भएपछि मतदान स्थगित गरिएको हो ।साभार अनलाईनखरबाट