जाजरकोटमा खाद्यान्न अभाव

जाजरकोट,माघ,९-

जाजरकोटका ग्रामीण भेगमा खाद्यान्न अभाव सुरु भएको छ । जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न गाउँमा खाद्यसंकट पर्न थालेको हो ।

आफ्नो उत्पादनले तीन महिनाभन्दा खान नपुग्ने दुर्गम गाउँका बासिन्दा सरकारी अनुदानको चामलसमेत नपाएपछि अभावमा गुज्रन बाध्य भएका छन् । एक कट्टा चामल १५ सयदेखि २ हजार रुपैया“मा किनेर गुजारा चलाउने गरेका स्थानीयले त्यही पनि नपाउँदा अप्ठ्यारो परेको बताएका छन् ।

‘अनुदानको चामल र आयोडिन नुनसमेत पाएका छैनौं’, जुनीचाँदे २, अफगानका कालु तिरुवाले भने । यो वर्ष त सरकारले उपलब्ध गराउने अनुदानको चामल देख्नै नपाएको उनले गुनासो गरे । खाद्य संस्थानको अञ्चल कार्यालय नेपालगन्जको चरम लापरबाहीका कारण अनुदानको चामल लक्षित वर्गसम्म नपुगेको हो ।

ठेकेदारले दशेरा र पजारु घोगी खाद्य डिपोबाट ढुवानी तथा चामल बिक्री गरिदिँदा दुर्गम भेगका बासिन्दा भोकभोकै परेको तिरुवाले बताए । आजको अन्नपूर्णमा खबर छ ।