‘ए’ डिभिजन लिग फुटबल – आर्मी र एनआरटीको बराबरी

काठमाडौं,माघ,११-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मी १० खेलाडीमा सिमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।

एनआरटीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि आर्मीले गोल गर्न सकेन । उसका लागि एनआरटीका गोलकिपर अजित प्रजापति बाधक बनेका थिए । आर्मीका पदक पटकको प्रहार उनले उत्कृष्ट बचाऊ गरे ।

खेलको १६ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले डिबक्सको ठिक बाहिरबाट हानेको सशक्त प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे ।

यस्तै खेलको १७ औं मिनेटमा एनआरटीले पनि गोलको अवसर गुमायो । उसका दर्शन गुरुङले डिबक्स भित्रबाट बाहिर प्रहार गरे ।खेलको ८० औं मिनेटमा सुमन अर्यालको हेड बाहिरिएको थियो ।खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो ।

यस्तै इन्जुरी समयमा आर्मीका सन्तोष तामाङको उत्कृष्ट फ्रिकिक पनि अजितले उत्कृष्ट बचाऊ गरे ।खेलमा एनआरटीका गोलकिपर अजित प्रजापति म्यान अफ दि म्याच चुनिए ।एनआरटीसँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ ।

आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । र, आर्मी दोस्रो स्थानको मछिन्द्र भन्दा १ अंकले अघि रहेको छ ।एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ । एनआरटी पाँचौं स्थानमा रहेको छ ।