वैज्ञानिक उत्पादन गर्ने नवीन औद्योगिक माविमा कक्षा ११ मा भर्ना हुनेको ओइरो

विद्यार्थीको चाप थेग्नै मुस्किल !

बुटवल,असार,२०-

वैज्ञानिक उत्पादन गर्ने विद्यालयको छवि बनाएको बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ११ मा भर्ना गर्न थेगिनसक्ने गरी विद्यार्थीको चाप बढेको छ । एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयमा कक्षा ११ मा भर्ना गर्न विद्यार्थीको ओइरो लागेका हुन् ।

निजी कलेजहरुको तडकभडक नाघेर अभिभावक र विद्यार्थीको भर्नाको चाप सामुदायिक विद्यालयमा बढेको हो । सांसद, अधिवक्ता, उद्योगीब्यापारी, शिक्षक कर्मचारीहरु यतिबेला आफ्ना छोराछोरी कक्षा ११ मा भर्ना गर्न विद्यालयमा पुग्ने गरेका छन् ।

विद्यालयले असार १७ देखि २० गते सम्म प्रवेश परीक्षाका लागि फारम खुलाएको थियो । तर, पहिलो दिन नै फारम सकिएपछि फोटोकपी गरेर फारम वितरण गरिरहेको छ । प्रवेश परीक्षा असार २१ ग्ते शनिवार हुने विद्यालयले जनाएको छ ।यसै शैक्षिक सत्रदेखि विज्ञान संकाय पनि शुरु गरेको विद्यालयमा व्यवस्थापन संकाय र प्राविधिक शिक्षातर्फ सिभिल इञ्जिनियरको पनि पढाइ हुँदै आएको छ । 

यसअघि एसएलसी र टिएसएलसी परीक्षामा पनि निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयले यस वर्ष देखि विज्ञान संकाय शुरु गरेको र ५ नम्बर प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयले विज्ञान संकाय पढ्ने छात्राहरुलाई प्रोत्साहन स्वरुप मासिक एकहजार दिने नीति बनाएको हुँदा विद्यार्थीहरुको आकर्षण बढेको र विद्यार्थीं थाम्नै मुस्किल भएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।

विद्यालयले विज्ञान संकायमा बुटवलका ख्यातिप्राप्त भिजिटिङ प्रोफेसरहरुबाट विशेष कक्षा दिने योजना बनाएको प्रअ बस्नेतले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशाला निर्माण गरिदिएको छ ।

यस्तै प्रदेशसरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले सिभिङ इञ्जिनियरिङ कक्षालाई प्रयोगात्मक बनाउन टोटल स्टेशन, सर्भे तथा ल्यावका महत्वपूर्ण सामग्री खरिदमा २० लाख बजेटसमेत विनियोजन गरिदिएको प्रअ बस्नेतले जानकारी दिए ।

यसै विद्यालयबाट टि एसएलसी उत्तीर्ण लव–कुश पन्थीले बनाएको आवाज निकाल्ने र विभिन्न काम गर्ने गो–गो रोवर्ट राष्ट्रियस्तरमै चर्चाको शिखरमा छ । उनीहरुलाई प्रोत्साहनस्वरुप बुटवल उपमहानगरले १ लाख र विद्यालयले २० हजार दिएको थियो । यसैगरी, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले हालै वैज्ञानिक अन्वेषण अवार्ड २०७६ र नगद पुरस्कारबाट सम्मानित गरेको छ ।

मन्टेश्वरीदेखि कक्षा १० सम्म पूर्ण अंग्रेजी माध्ययममा पठनपाठन हुने यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान र सिसिभल इञ्जिनियरिङ पनि पूर्ण अंग्रेजी र व्यवस्थापन संकाय अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ ।