विश्वभर शरणार्थीको संख्या हालसम्मकै उच्च भएकाे संयुक्त राष्ट्रसंघको तथ्याङ्क

एजेन्सी,असार, ५-

विभिन्न कारण आफ्नो मूल बसोबास छोडेर बिस्थापित हुनेको संख्या विश्वभर हालसम्मकै उच्च भएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोगले सन् २०१६ सम्म विश्वभरमा शरणार्थी तथा आन्तरिक रुपमा बिस्थापित हुनेको संख्या ६ करोड ५६ लाख पुगेको जनाएको छ ।

राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१६ मा मात्रै बिस्थापित हुनेको संख्या ३ लाखले बढेको छ । विस्थापित हुनेमा ८४ प्रतिशत गरीब र कम आय भएका मुलुकका नागरिक रहेको राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।

करिब ६ बर्षयता जारी युद्धका कारण सबैभन्दा बढी सिरियाका ५५ लाख नागरिक मुलुक छोडेर भागेका छन् ।

यस्तै, अफ्गानिस्तानका २५ लाख र दक्षिणी सुडानका १४ लाख नागरिकले विभिन्न मुलुकमा शरणार्थी जीवन बिताइरहेको राष्ट्रसंघले जनाएको छ ।

ठूलो संख्याका शरणार्थीलाई टर्कीले शरण दिइरहेको छ । यस्तै, पाकिस्तान, लेबनन्, इरान, युगान्डा र इथियोपियामा पनि ठूलो संख्यामा शरणार्थी रहेको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ ।