स्कटल्याण्ड एबर्डिनमा नेपाली कक्षा सञ्चालनको तीन वर्ष पूरा

स्कटल्याण्ड, असार,५-

बेलायतको स्कटल्याण्ड एबर्डिनमा नेपालीहरूको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालिकाहरूलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको तीन वर्ष पूरा भएको छ।

नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देश्यले हरेक दुई सातामा दुई घण्टाको दरले एसोसिएसनले विगत तीन वर्षदेखि कक्षा सञ्चालन गर्दै आएको छ। एसोसिएसनले नेपाली अभिभावकहरूकै सहयोग लिएर स्वयंसेवक शिक्षकहरूमार्फत कक्षा सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष मीन भट्टले जानकारी दिए। ​

एबर्डिन स्कटल्याण्डको माइल इण्ड प्राइमरी स्कुलमा औपचारिक कार्यक्रमसहित तीन वर्षअघि सुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली बालबालिकाहरूको उल्लेख्य सहभागिता रहेको छ। नेपाली भाषा कक्षाका संयोजक प्रकाश जीसीले बालबालिकाहरू नेपाली भाषा प्रस्ट बोल्न, लेख्न र पढ्ने सक्ने भएको जानकारी दिँदै अहिले उक्त कक्षा झनै प्रभावकारी भइरहेको बताए।

नेपाली भाषा कक्षामा पाँचदेखि पन्ध्र वर्षसम्मका नेपाली बालबलिकाहरूलाई विभिन्न समूहमा विभाजन गरी पठनपाठन हुँदै आएको छ। नेपाली भाषा, कला, संस्कृति, साहित्य र नेपाली पहिचानसंबन्धी ज्ञान लिन बालबालिकाहरू पनि उत्सुक देखिएका अध्यक्ष भट्ट बताउँछन्।

नेपाली भाषा कक्षा अध्यापनका लागि नेपालमा रहँदा शिक्षण पेसामा लागेर अनुभव हासिल गरेका व्यक्तिहरूको संलग्नता रहेको उनले जानकारी दिए। प्रकाश जीसीको संयोजकत्वमा मीन भट्ट, कल्पना जीसी, तोया सापकोटा, सिर्जना पाण्डे, विजय सिग्देल, सागर सिम्खडा, शिव तिवारीलगायत यस कार्यमा क्रियाशील छन्।

​प्रोजेक्ट कोअर्डिनेटर नवीन क्षेत्रीले विगत वर्षहरूमा संस्थाले आफ्नै खर्चमा नेपाली भाषा कक्षा संचालनमा ल्याएको भए पनि भर्खरै ‘द नेशनल लोटरी’ नामक संस्थाद्वारा वर्ष २०१७/२०१८ को लागि झन्डै पाँच हजार पाउण्ड सहयोग प्राप्त गरेको भन्दै बताए।

स्कटल्याण्डको च्यारिटी नियमअनुसार दर्ता भएको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले नेपालमा विभिन्न प्राकृतिक विपत पर्दासमेत सहयोग गर्दै आएको छ। पछिल्लो पटक नेपालमा गएको भूकम्पको बेला संस्थाले स्थानीय नेपालीहरूबाट संकलन गरी प्रधानमन्त्री राहत कोषमा नेपाली २६ लाख रुपैयाँ पठाएर सहयोग गरेको थियो। थाहा खबरबाट