घुर्की देखाएर जनताको भविष्यमाथि खेलवाड नगर्न काँग्रेस नेता महतको चेतावनी

काठमाण्डाैं,असार, ५-

नेपाली काँग्रेसका नेता रामशरण महतले आन्दोलनको घुर्की देखाएर मधेसका जनताको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिनु भएको छ ।

धनकुटामा आज आयोजित पत्रकार सम्मेलनमा नेता महतले आन्दोलनरत राजपालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले देखाएको अधिकतम लचकता र उदारतालाई कमजोरीका रुपमा नलिन आग्रह गर्नुभयो ।

उहाँले प्रजातन्त्रमा सबैको चित्त बुझाउन नसकिने भन्दै सारिएको मितिमा पनि राजपा निर्वाचनमा सहभागी नभए मधेसी जनताबाटै तिरस्कृत हुने बताउनुभयो ।

राजपाले आफ्नो पकड क्षेत्र दावी गर्दै आएका स्थानमा राजपाका स्थानीय नेताहरुले असार १४ को निर्वाचनको लागि उत्साहपूर्वक स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु त्यसैको उदाहरण भएको उहाँको भनाई थियो ।

राजपालाई चुनावमा सहभागी गराउनका लागि नै पटक–पटक निर्वाचन मिति सारिएको भन्दै उहाँले अनन्तकालसम्म सरकार त्यसैका पछि कुद्न नसक्ने स्पष्ट पार्नुभयो ।