युक्रेनभरी नै बज्यो युद्धको साइरन, रुसी सेनाले उद्धारका बसहरू समेत रोक्यो

काठमाडौं,चैत्र,६-२५ दिनदेखि जारी रुस र युक्रेनबीचको युद्ध झन् भीषण बन्दै गएको छ ।रुसले युक्रेनमाथि बिना कारण गत फेबु्रअरी २४ देखि आक्रमण शुरु गरेको थियो । पछिल्ला दिनमा रुस युक्रेन युद्ध खतरनाक मोडमा पुगेको छ ।

अहिले युक्रेनभर रुसी सेनाले हवाई आक्रमण गरिरहेका छन् । युक्रेनको भनाई अनुसार मानवीय आश्रयस्थल भनेर चिन्ह लगाएको स्थानहरुमा समेत रुसी सेनाले आक्रमण गरेका बीबीसीले जनाएको छ । मानवीय सहायताका लागि युक्रेनका शहरहरुमा प्रवेश गर्न खोज्नेहरुलाई समेत रुसी सेनाले रोकेका छन् ।

युक्रेनी नागरिककको स्थिति निकै भयाबह बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । रुसले युक्रेनमाथि कब्जा जमाउन आक्रमण बढाउँदै लगेको छ । रुसी सेनाको बम र हवाई आक्रमणबाट युक्रेनी नागरिकका ८० प्रतिशत घरहरु पूरै ध्वस्त भएका छन् ।पूरै युक्रेनमा युद्धको साइरन बजेको छ ।

युद्धबाट जोगिन ३३ लाखभन्दा बढी युक्रेनी नागरिक शरणार्थीका रुपमा युक्रेनको पश्चिमी सीमा पार गरेर भागेका छन् । रुसी सेनाले युक्रेनका धेरैजसो शहरहरु आफ्नो कब्जामा लिएपनि राजधानी समेत रहेको कीभलाई कब्जा गर्न सकेको छैन । राजधानी शहर कब्जा गर्न नदिन युक्रेनी सेनाले बहादुरीपूर्वक रुसी सेना बिरुद्ध लडिरहेका छन् ।

युक्रेनको अधिकांश सहरमा रुसी आक्रमणको चेतावनी जारी गरिएको छ । युक्रेन सरकारले आफ्ना नागरिकहरुलाई सावधानी अपनाउन भन्दै सुमी, माइकोलाइभ, टेर्नापिल, पोल्टाभा, किरोवोहराद, खार्किभ, जापोरिज्जिया, कीभ,लवीव, चेर्कासी, जाइटोमीर, विनिट्सिया , ओडेसा र ओब्लास्टमा हवाई आक्रमणको चेतावनी जारी गर्दै साइरन बजाएको छ ।

शनिबार मात्रै रुस र युक्रेन युद्धबीच बिभिन्न स्थानमा फसेका युक्रेनी नागरिकहरुलाई बाहिर निकाल्न निर्माण गरिएको ह्युमन करिडोरमार्फत खतरा क्षेत्रबाट ६ हजार ६२३ जनालाई बाहिर निकालिएको थियो । रुसले युक्रेनमा धेरै ठूलो युद्ध अपराध गरेको युक्रेनको आरोप छ । युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले रसलाई वार्ताका लागि प्रतिवद्धता जनाउन आग्रह गरेका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणको विश्वभर बिरोध भइरहेको छ ।एजेन्सी