काठमाडौं,चैत्र,२५-नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ ।
बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेका घिमिरेले ३ हजार ७ सय २८ मत पाइसकेका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् । अब गणना हुन करिब १५ सय मत मात्र बाँकी भएकाले घिमिरेको जित निश्चित भएको हो ।
महासचिवमा पनि घिमिरे प्यानलकी अन्जिता खनालको जित निश्चित जस्तै छ । खनालले ३ हजार १ सय ७५ र उनको प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३ सय ४५ मत पाएका छन् ।
मतगणनामा सहभागी निर्वाचन समितिका एक सदस्यका अनुसार अन्य पदहरुमा पनि घिमिरे प्यानल नै अगाडि छ ।
कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशन २६ औं केन्द्रीय कार्यसमितिका लागि यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७ सय ८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७ सय र उपत्यका बाहिर तीन हजार ५ सय मतदाता रहेका थिए । सात हजार ४ सय २९ मत मात्र खसेको थियो ।