समानुपातिकतर्फ कुन दलले कति मत प्राप्त गरे ?

फाईल तस्विर !!

काठमाडौं,मंसिर,१२-प्रतिनिधि तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेले कांग्रेससँग फराकिलो अग्रता बनाउँदै लगेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले प्रतिनिधि सभातर्फ २५ लाख ७ हजार भन्दा बढी मत प्राप्त गर्दा कांग्रेसले २३ लाख ७७ हजार मत पाएको छ । त्यस्तै तेस्रो स्थानमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार, चौथो स्थानको नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ४३ हजार, जनता समाजवादी पार्टीले ३ लाख १४ हजार, जनमत पार्टीले २ लाख ५१ हजार तथा नेकपा एकीकृत समाजवादीले २ लाख ४७ हजार मत कटाएका छन् ।

अहिलेसम्म एमाले, कांग्रेस, स्वतन्त्र पार्टी, माओवादी र राप्रपाले थ्रेसहोल्ड कटाएका छन् । जसपा थ्रेसहोल्ड निकट पुगेको छ भने बाँकी दलहरुले थ्रेसहोल्ड कटाउने सम्भावना कमजोर बन्दै गएको छ ।प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि रहेको छ ।

मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी रहेकाे छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेकाे छ । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि ३ लाख २० हजार भन्दा बढी मत ल्याउनुपर्ने छ ।