निर्वाचन सम्बन्धि डडेल्धुरा प्रशासनद्धारा गरिएका निर्णय आशिंक रुपमा मात्रै कार्यान्वयन

ध्रुब बिष्ट,

डडेल्धुरा, असार,८-
डडेल्धुरा जिल्लास्थीत सञ्चालित यातायातका साधनहरुमा पार्टीका झण्डाहरु लगाइएको प्रति प्रशासनले सचेत गराएपनि अझैपनि सो कार्य आंशिक रुपमा जारी नै रहेको छ । अस्ती मात्रै जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक गरेर यस्तो नगर्न आग्रह गरेको भएपनि आचारसंहिता उलंघनका घटनामा पूर्ण रुपमा अझै कमी नआएको स्थानियहरुको भनाई छ ।

सार्वजनिक यातायातका सवारी साधनले जिल्लाका ग्रामीण क्षेत्रमा पार्टीका झण्डा लगाएर यात्रु बोक्ने गरेको मनोहर साँउदले बताएका छन । सार्वजनिक स्थलमा पार्टीको प्रचार–प्रसारका प्रचा पम्पलेट लगाउने कार्य समेत नरोकिएको उनको भनाई छ ।

यसैगरी जिल्लाका ग्रामिण क्षेत्रमा सञ्चालन हुने अधिकांस सार्वजनिक यातायातका सवारी साधनले किराया नलिने तर जुन पार्टीको झण्डा गाडीमा लगाइएको छ सोही पार्टीलाई मतदान गर्न भनिरहेको यात्रुले बताएका छन ।

जिल्ला स्थित विभिन्न पार्टीले जिप भाडामा लिई आफ्नो पार्टीको झण्डा लगाएर भाडा नलिई भोट माँग्दै यात्रु बोक्ने गरेको शुभाष नाथले बताएका छन । जिल्ला सदरमुकाम वागवजार देखी पोखरा सहित जिल्लाका ग्रामिण क्षेत्रमा सञ्चालन भईरहेका सार्वजनिक यातायातका सवारी साधनहरुले समेत पार्टीको झण्डा लगाएर यात्रु बोक्ने गरेको पाइएको छ ।

पार्टीको झण्डा मात्रै नभई ठूलो ठूलो आवाजमा स्पिकर लगाएर पार्टीको गित बजाउने गरेका छन । निर्वाचन आयोगको निर्णय विपरित पार्टीको चुनाव चिन्ह अंकित टोपी, टि–सर्ट वितरणलाई व्यापकता दिएका छन । सदरमुकाम देखी ग्रामिण क्षेत्रमा टि–सर्ट र टोपी वितरणलाई प्रतिस्पर्धाका रुपमा दलहरुले लिएका छन ।

टि–सर्ट दिएर मतदाताहरुलाई आफु तिर आर्कषित गरीरहेको स्थानिय बासिन्दाले आरोप लगाएका छन । आसन्न दोस्रो तहको निर्वाचनलाई स्वच्छ, भय रहित र निष्पक्ष बनाउने उद्धेश्यका साथ जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आह्वानमा सोमबार मात्रै सर्वदलीय बैठक गरिएको थियो ।