संसद विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ हुने

पद जोगाउन प्रधानमन्त्रीले विघटन गरेको आरोप

काठमाडौं,माघ,६-प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ।आइतबारदेखि संवैधानिक इजलासमा सुरु भएको मुद्दामा आज पनि सुनुवाई हुन लागेको हो । यसअघि हिजो अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरले बहस गर्नुभएको थियो ।

बहसमा उहाँहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउन प्रतिनिधिसभा विघटन गरेको जिकिर गर्नुभएको थियो । पदका लागि व्यवस्था मास्न नमिल्ने भन्दै अधिवक्ताहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताउनुभएको थियो ।

त्यसअघि आइतबार अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिल पोखरेल, बद्री भट्ट र सन्तोष भण्डारीले बहस गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा साढे तीन सय वकिलले बहसका लागि नाम टिपाएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए ।